आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको समयावधिसम्म ३६ थान हतियार प्रहरी प्रशासनमा बुझाइएको छ ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले १५ दिने सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको थियो । सूचना जारी भएपछि ११ राइफल, ११ सटगन, १२ भरुवा तथा अन्य दुई थान हतियार प्रहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
जिल्लामा प्रशासनबाट इजाजत लिई नागरिकसँग रहेका हतियारको संख्या १ सय १८ रहेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रेम सुवेदीले बताए । तीमध्ये २० राइफल, ५६ सटगन, १९ भरुवा र अन्य २३ थान हतियार दर्तामा छन् । तर तीमध्ये थोरै मात्र हतियार बुझाइएको छ ।
सहायक प्रजिअ सुवेदीका अनुसार हतियार राखेका व्यक्तिहरूलाई आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरिएको थियो । सो म्याद मंगलबार सकिएको छ भने अझै पनि बुझाउन सकिने सहायक प्रजिअ सुवेदीले जानकारी दिए ।
प्रशासनका अनुसार हतियार नबुझाउनेको हकमा अब जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्नेछ । हरेक निर्वाचनका बेला हतियार खरखजाना ऐन २०१९ को दफा ८ अनुसार इजाजत प्राप्त हतियार अस्थायी रूपमा प्रहरीलाई बुझाउने प्रचलन रहेको प्रशासनले स्पष्ट पारेको छ ।
निर्वाचन सकिएपछि तोकिएको समयपछि सम्बन्धित व्यक्तिलाई हतियार फिर्ता गरिने प्रशासनको भनाइ छ । शान्तिपूर्ण निर्वाचनका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको प्रशासनले जनाएको छ ।














