स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि दौडमा गल्याङ र वालिङ नगरपालिका पुगेका छन् । सोमबार भएका सेमिफाइनल खेलमा प्रभावशाली प्रदर्शन गर्दै दुवै टोलीले फाइनल यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा गल्याङ नगरपालिकाले चापाकोट नगरपालिकालाई ८८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गल्याङले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १७८ रन बनाएको थियो । टोलीका लागि दीपक प्रसाद डुम्रेले आक्रामक ७५ रन जोडे भने विपीन खत्रीले ३९ र सन्दिप खत्रीले ३१ रनको योगदान दिएका थिए ।
१७९ रनको लक्ष्य पछ्याएको चापाकोट १४.१ ओभरमै ९० रनमा अलआउट भएको थियो । अपराजित ४९ रन बनाएका एक ब्याटरबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । गल्याङका दीपक डुम्रे, ईशान पाण्डे र विपिन खत्रीले समान दुई–दुई विकेट लिएका थिए । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन खत्री ‘प्लेयर अफ द म्याच’ बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् ।
दोस्रो सेमिफाइनलमा वालिङ नगरपालिकाले हरिनास गाउँपालिकामाथि ११६ रनको सहज जित निकालेको छ । पहिले ब्याटिङ गरेको वालिङले नौ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । सुजन गौतमले ५१ र रोशन गौतमले ४७ रन बनाएका थिए । हरिनासका मिलन क्षेत्रीले चार विकेट लिए पनि टोलीलाई जिततर्फ डोर्याउन सकेनन् ।
१६४ रनको लक्ष्य लिएर मैदान उत्रिएको हरिनास ८.५ ओभरमै ४७ रनमा समेटिएको थियो । वालिङका लागि सुदिप अर्यालले चार, अंकित न्यौपानेले तीन र सुजन गौतमले दुई विकेट हात पारेका थिए । यस खेलका ‘प्लेयर अफ द म्याच’ सुदिप अर्याल घोषित हुँदै पाँच हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।
अब तेस्रो स्थानका लागि मङ्गलबार हरिनास र चापाकोटबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । तेस्रो हुने टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले विशेष रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई पाँच हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।
स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहितका खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।
माघ २ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १४ गते सम्पन्न हुनेछ । प्रतियोगितामा जिल्लाका ११ स्थानीय तहको सहभागिता रहेको छ ।














