कालीगण्डकी नदीमाथि आधा दर्जनभन्दा बढी मोटरेबल पुल म्याद नाघेर निर्माण भइरहेका बेला होस्ती पुल भने काम सुरु भएको डेढ वर्षमै सम्पन्न भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–१० र पाल्पाको रामपुर नगरपालिका–१० जोड्ने तथा गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने यो पुल समयअघि नै तयार भएको हो ।
सपना निर्माण सेवाले २०७९ कात्तिक २३ गते तीन वर्षभित्र काम सक्ने गरी सम्झौता गरेको भए पनि सम्झौताको पहिलो एक वर्ष डिजाइन नबन्दा निर्माण अघि बढ्न सकेको थिएन । ढिलै सुरु भए पनि काम थालेपछि डेढ वर्षमै पुल निर्माण पूरा गरिएको हो ।
तीन स्पानमा करिब २०० मिटर लम्बाइको यो पुल ३० करोड ६४ लाख ३८ हजार ८ सय रुपैयाँमा निर्माण भएको पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले जानकारी दिए । साना पुलहरू समेत समयमै नबन्ने अवस्था देखिँदा ठूलो संरचना समयअघि नै सम्पन्न हुनु सकारात्मक सन्देश भएको उनको भनाइ छ ।
होस्ती पुल कालीगण्डकी करिडोरसँग जोड्ने रामनदी पुलपछिको सबैभन्दा नजिकको संरचना हो । यस पुल निर्माणसँगै कालीगण्डकी क्षेत्रबाट लुम्बिनी प्रदेश हुँदै तराई र भारत आवतजावत सहज भएको छ । पहिले निर्दीमघाट–हुँगी हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय रेशम पंगेनीले बताए ।
यता, चापाकोटको आँधीघाट र रामपुरको बर्द जोड्ने अर्को मोटरेबल पुल भने आठ वर्षपछि मात्र निर्माण सम्पन्न भएको छ । २०७४ मङ्सिर २२ गते एमएस सपना/महादेव खिम्ती/हिरा जेभीले तीन वर्षमा काम सक्ने गरी सम्झौता गरेको यो पुल पटक–पटक म्याद थपिँदै अन्ततः आठ वर्षमा सम्पन्न भएको हो ।
आँधीघाटमा निर्माण भएको पुलको लम्बाइ २२० मिटर रहेको छ । संरचनागत रूपमा मुख्य काम सकिए पनि सामान्य कार्य बाँकी रहेको पुल सेक्टर पोखराले जनाएको छ । पुल निर्माणका लागि २८ करोड ३७ लाख ३ हजार ३ सय रुपैयाँको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले चार स्पानको पुलका लागि पाँचौँ पटक चैत ३० गतेसम्म म्याद थपेको थियो ।
एउटै नदीमा बनेका यी दुई पुलले विकास आयोजनामा समय व्यवस्थापन र कार्यान्वयनको फरक चित्र प्रस्तुत गरेका छन् ।














