स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँघरमा वर्षौंदेखि प्रयोगविहीन रहेका कृषियोग्य जमिनलाई उत्पादनसँग जोड्ने उद्देश्यले नयाँ कृषि प्रोत्साहन कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाले विभिन्न कारणले लामो समयदेखि खेती नभएका बाँझो जमिनको संख्या बढ्दै गएको अवस्थामा त्यस्ता जमिनको सदुपयोग गरी कृषि उत्पादन र उत्पादकत्व बढाउने, खाद्य तथा पोषण सुरक्षामा सुधार गर्ने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको जनाएको छ ।
कार्यक्रमअनुसार लामो समयदेखि खेती नभएको जमिनमा उत्पादन विस्तार गर्ने कृषकले प्रतिरोपनी तीन हजार रुपैयाँ अनुदान पाउनेछन् । पहिलो चरणमा करिब पाँच सय रोपनी क्षेत्रफललाई खेतीमा ल्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
बाँझो जमिनलाई उत्पादनसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादन बढाउने र किसानको आम्दानी उकास्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । उनले भने, “जग्गा खाली राखेर रोजगारीका लागि बाहिरिनुपर्ने अवस्थालाई कम गर्न र गाउँमै कृषि उद्यमशीलता बढाउन यो योजना ल्याएका हौं । यो योजना प्रभावकारी हुने विश्वास लिएका छौं ।”
गाउँपालिकाले तोकेको मापदण्डअनुसार खेती गर्न इच्छुक किसान तथा कृषि फर्महरूले आवश्यक विवरणसहित आवेदन दिन सक्नेछन् । आवेदनसँगै निवेदन, नागरिकता, जग्गाको लालपुर्जा, वडा कार्यालयको सिफारिस, बाँझो जमिनको फोटो, लागत साझेदारीको प्रतिबद्धता पत्र लगायत कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । भाडामा लिएको जग्गा भए कम्तीमा तीन वर्षका लागि उपयोग गर्ने सम्झौता समेत आवश्यक पर्ने जनाइएको छ ।
गाउँपालिकाले आवेदनपछि स्थलगत निरीक्षण गरिने, विगतमा अनुदान लिएको जग्गामा पुनः अनुदान नदिइने र बढी क्षेत्रफलमा खेती प्रस्ताव गर्नेलाई प्राथमिकता दिइने स्पष्ट पारेको छ । कफी र अलैंची खेती गर्ने कृषक तथा समूहलाई विशेष प्राथमिकता दिइने पनि गाउँपालिकाले जनाएको छ ।
यसबारे थप जानकारीका लागि फेदीखोला गाउँपालिकाको कृषि विकास उपशाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।














