जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिरुवा गाउँपालिका–६ लेवा क्षेत्रबाट अवैध रूपमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक र त्यससँग सम्बन्धित सामग्री बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा शनिबार खटिएको प्रहरी टोलीले स्थानीय ७२ वर्षीय राम बहादुर सुनारको घरमा खानतलासी गर्दा भरुवा बन्दुक लुकाइ राखिएको तथा मर्मत कार्य भइरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनास्थलबाट विभिन्न प्रकारका भरुवा बन्दुक तथा गोली–बारुदसम्बन्धी सामग्री बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार एकनाले भरुवा बन्दुक एक थान, नाल भएको तर पाटपुर्जा जडान नभएको भरुवा बन्दुक दुई थान र नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक एक थान बरामद गरिएको छ। त्यस्तै, फलामे रड चार थान, भरुवा बन्दुकको छुच्ची छ थान, वारुद १४२ ग्राम, सिसाका छर्रा १०७ वटा, केप छ थान र वारुद बनाउन प्रयोग हुने षोडा एक केजी समेत फेला परेको छ ।
यसका साथै भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको घोडा तीन थान, चिम्टी दुई थान, फलामको किला चार थान र फलामको चाप एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनारलाई हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।














