स्याङ्जाको दक्षिणी भेग चापाकोटमा तेस्रो चापाकोट महोत्सव–२०८२ आजदेखि सुरु भएको छ । कालीगण्डकी नदीको किनारमा रहेको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले गरेका हुन् । महोत्सव आगामी माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री गुरुङले स्थानीय उत्पादन र पहिचानसँग जोडिएका महोत्सवले क्षेत्रीय अर्थतन्त्र मजबुत बनाउने उल्लेख गरे । “स्थानीय स्रोत, सीप र संस्कृतिको प्रवर्द्धन बिना समृद्धि सम्भव हुँदैन,” उनले भने, “यस्ता महोत्सवले पर्यटनसँगै रोजगारी सिर्जना र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउँछन् ।”
महोत्सवमा कृषि उत्पादन तथा पशुपंक्षी प्रदर्शनी, औद्योगिक तथा व्यापारिक स्टल, हस्तकला र पर्यटन फोटो प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीलगायत कार्यक्रम समावेश छन् । सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न जातजातिको कला र संस्कृति झल्किने प्रस्तुति रहनेछ भने भजन–कीर्तन, रत्यौली, माध्यमिक तहस्तरीय हाजिरीजवाफ प्रतियोगिता तथा ‘तेस्रो चापाकोट डान्स आइडल’ पनि समावेश गरिएको आयोजकले जनाएको छ ।
बालबालिकाका लागि छुट्टै बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट दैनिक सांगीतिक प्रस्तुति, कृषि विज्ञ र अगुवा किसानबीच अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । साथै महोत्सवमा आकर्षक प्रवेशद्वार, लन्डन ब्रिज र इफिल टावरको नमुना संरचना समेत रहेका छन् । महोत्सवमा गण्डकी बेसिका रमणीय स्थलको हेलिकप्टर दृश्यावलोकन, कालीगण्डकीमा जलयात्रा र उपयुक्त स्थानबाट प्याराग्लाइडिङमार्फत महोत्सव अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
‘हाम्रो मान हाम्रो शान, सुन्दर नगर हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा नगरस्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाका रूपमा महोत्सव गरिएको हो । स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव गरिएको संघका अध्यक्ष निर्मल राना मगरले बताए ।
झण्डै २५० स्टल रहेको महोत्सवमा एक लाखभन्दा बढी दर्शक भित्र्याउने र एक करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । सुरक्षालाई ध्यानमा राख्दै बीमाको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।
महोत्सव प्रवेश शुल्क साधारणतर्फ १०० रुपैयाँ र विद्यार्थीका लागि ७० रुपैयाँ रहेको छ । महोत्सवबाट करिब एक करोड रुपैयाँ आम्दानी हुने र ७९ लाख ४० हजार खर्च भई २० लाख १० हजार बचत हुने अनुमान आयोजकले गरेको छ । महोत्सवबाट संकलित आम्दानी व्यवसायिक हितकोष, खेलमैदान व्यवस्थापन, शैक्षिक पुरस्कार तथा छात्रवृत्ति र संघको भवन निर्माणमा खर्च गर्ने बताइएको छ ।
र्यालीसहित सुरु गरिएको उद्घाटन कार्यक्रममा विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघसंस्थाले आ–आफ्नो मौलिक संस्कृति झल्कने झाँकी तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।














