स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ मा आयोजित खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वालिङ नगरपालिका–१२ ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा भीरकोट नगरपालिका–८ लाई ३–१ को सेटले पराजित गर्दै वालिङ–१२ विजयी बनेको हो ।
फाइनल खेलको पहिलो सेट वालिङ–१२ ले २५–२१ अङ्कका साथ आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भने भीरकोट–८ ले २५–२१ अङ्कसहित खेल बराबरीमा ल्याएको थियो । त्यसपछि वालिङ–१२ ले तेस्रो सेट २५–१५ र कडा प्रतिस्पर्धात्मक चौथो सेट २६–२४ अङ्कमा जित्दै उपाधि हासिल गरेको हो । उपाधि गुमाएसँगै भीरकोट–८ ले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
अग्रदिप युवा क्लबद्वारा आयोजित प्रतियोगितामा तेस्रो र चौथो स्थान क्रमशः आयोजक “बि” र आयोजक “सि” ले हात पारेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले क्रमशः ८१ हजार १११, ५१ हजार १११, ३१ हजार १११ र ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
व्यक्तिगत विधागत पुरस्कारतर्फ वालिङ–१२ का सचिन गाहा मगर उत्कृष्ट खेलाडी, गोरे गुरुङ उत्कृष्ट लिब्रो र युमन गुरुङ उत्कृष्ट ब्लकर घोषित भए । भीरकोट–८ का आकाश गुरुङ उत्कृष्ट स्पाइकर, मिलन गुरुङ उत्कृष्ट सेटर, ओमन गुरुङ उदयमान खेलाडी तथा अर्जुनचौपारी–२ का समुन्द्र कार्की उत्कृष्ट सर्भर बनेका छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा अनुशासित टिम फेदीखोला–४ लाई पनि सम्मान गरिएको थियो ।
विजेता टोलीलाई प्रमुख अतिथि टुकराज अर्याल, क्लबका अध्यक्ष नेत्रबहादुर रोका लगायतले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै अर्यालले यस्ता प्रतियोगिताले गाउँस्तरमा लुकेका खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै युवालाई अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताए । उनले स्थानीय तहले खेलकुदलाई प्राथमिकतामा राखेर निरन्तर यस्ता कार्यक्रमलाई सहयोग गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
क्लबका अध्यक्ष नेत्रबहादुर रोकाले सीमित स्रोत र साधनका बीच पनि प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै टिम, खेलाडी, दर्शक तथा सहयोगी हातप्रति आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित र स्तरीय बनाउँदै निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
यही पुस १५ गतेदेखि अग्रदिप युवा क्लबको खेलमैदानमा भएको प्रतियोगितामा छिमेकी भीरकोट, वालिङ, चापाकोट नगरपालिका, फेदीखोला गाउँपालिकाका वडासहित १० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।














