स्याङ्जा प्रहरीले पछिल्लो समय जिल्लामा भइरहेका अवैध गतिविधिमाथि प्रभावकारी निगरानी र कारबाहीलाई तीव्र बनाएको छ । प्राप्त विशेष सूचनाका आधारमा जडीबुटी संकलनदेखि नदिजन्य पदार्थको अवैध उत्खनन र अदालतबाट फैसला भइसकेका फरार कसूरदार पक्राउसम्मका काम एकैसाथ अघि बढाइएका छन् ।
भीरकोट नगरपालिका–९ सिर्कोटमा अवैध रूपमा चुत्रो जातको जडीबुटी संकलन तथा भण्डारण गरिएको सूचनापछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले ३१ वर्षीय आनन्द बहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट अन्दाजी २५० केजी जडीबुटी बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सामग्रीसहित आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय वालिङमा बुझाइएको छ ।
यस्तै, नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार रोक्न स्याङ्जा प्रहरीले निगरानी कडा बनाएको छ । पुतलीबजार नगरपालिका–१४ लामागे आँधीखोलाबाट बालुवा–गिट्टी मिक्स लोड गरिएको ग १ त ४७९३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई पालिकामा बुझाइएकोमा २० हजार रुपैयाँ जरिवाना गराइएको छ । भीरकोट नगरपालिका–४ सिम्लेमा बालुवा बोकेको अर्को ग १ त ७३७१ नम्बरको ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ भने फेदीखोला गाउँपालिका–४ मा बालुवा–गिट्टी मिक्ससहित फेला परेको ग १ त ६४९० नम्बरको ट्याक्टरमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।
यससँगै, अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले फरार रहेका कसूरदारहरू पनि पक्राउ गरेको छ । जबरजस्ती चोरी र सार्वजनिक अपराधमा पाँच हजार २३७ रुपैयाँ ५० पैसा जरिवाना बाँकी रहेका पुतलीबजार–१ का ३६ वर्षीय शंकर अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ । त्यस्तै, नकवजनी चोरी र जबरजस्ती चोरीका मुद्दामा तीन महिना कैद सजाय बाँकी रहेका पुतलीबजार–१० का तम बहादुर गुरुङलाई पनि नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
जिल्लामा शान्ति सुरक्षा, वातावरण संरक्षण र न्यायिक प्रक्रिया सुदृढ बनाउने लक्ष्यसहित स्याङ्जा प्रहरीले निरन्तर सक्रियता देखाउँदै आएको भन्दै स्थानीयले पनि प्रहरीको कामप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।














