स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ खाल्टेमा अग्रदिप युवा क्लबको आयोजनामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस १५ गतेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।
प्रतियोगिताले स्थानीय खेलकुद गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको क्लबका अध्यक्ष नेत्रबहादुर रोकाले बताए । उनले प्रतियोगिताप्रति स्थानीयस्तरमा उत्साह र उमंग देखिएको उल्लेख गर्दै यसले गाउँपालिकाको खेलकुद विकाससँगै कला, संस्कार र संस्कृतिको जगेर्नामा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा प्रथम हुने टिमले ८१ हजार १११, दोस्रोले ५१ हजार १११, तेस्रोले ३१ हजार १११ र सान्त्वना टिमले ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट डिफेन्डरलाई समेत ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिने खेल संयोजक जीवन कुमार रोकाले जानकारी दिए । प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार ५०० रुपैयाँ तोकिएको छ ।
खेलकुदसँगै कार्यक्रमलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिने क्लबका सचिव गौतम रोकाले बताए । उनका अनुसार पुस १५ गते बिहान ११ : ३० बजे खाल्टे खेलमैदानमा पहिलो उद्घाटन खेल हुनेछ ।














