स्याङ्जाको बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
बिरुवा -८ मेथाभुरुङ स्थित पुष्प मदन खेलमैदानमा तीन दिनसम्म चलेको प्रतिस्पर्धामा भुरुङचौकी माविले १० स्वर्ण, नौ रजत र दुई कास्य पदक जित्दै उपाधि हासिल गरेको हो । उपाधिसँगै भुरुङचौकी माविले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्रसहित ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी, ६ स्वर्ण, पाँच रजत र दुई कास्यसहित जामुने डाँडा माध्यमिक विद्यालय दोस्रो भएको छ । विद्यालयले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । पाँच स्वर्ण, चार रजत र चार कास्य जितेको बिरुवा मुनलाइट एकेडेमी तेस्रो बन्दै १५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश रहेको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिता मंसिर १४ देखि १६ गतेसम्म चलेको थियो ।
पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले स्थानीय तहमा आयोजना हुने खेलकुद प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडीको आधार तयार गर्ने बताउँदै विद्यार्थीलाई अनुशासित र सक्रिय हुँदै आफ्नो रुचिअनुसारको खेलमार्फत व्यक्तित्व विकासमा लाग्न आग्रह गरेका थिए ।
गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुँवरले खेलकुदले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकासमा मद्दत गर्ने बताए । प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।














