स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आयोजित सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
कालीगण्डकी -७ मिर्मी खेलमैदानमा भएको प्रतियोगितामा आदर्श माविले नौ स्वर्ण, छ रजत र छ कास्य पदकसहित उपाधि जितेको हो ।
पाँच स्वर्ण, छ रजत र दुई कास्य पदकसहित भगवती माध्यमिक विद्यालय दोस्रो हुन सफल भयो भने चार स्वर्ण, चार रजत र चार कास्य पदक जित्दै जनता माध्यमिक विद्यालय तेस्रो बनेको थियो ।
२८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा छात्र-छात्रा भलिबल, कबड्डी, एथलेटिक्सका १ सयदेखि ३ हजार मिटर दौड, रिलेदौड, हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश थिए ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाका अनुसार विद्यार्थीहरूमा खेलकुदमार्फत आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासनको विकास गर्ने उद्देश्यले गाउँपालिकाले आयोजना गरेको यस प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयमध्ये १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । जसमा ९८८ जना विद्यार्थीहरु सहभागी थिए ।














