स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘आलुमा आत्मनिर्भर कार्यक्रम’ सुरु गरेको छ । आलु उत्पादनका लागि अनुकूल भूगोल र जलवायु भएकाले नगरपालिकाले यसलाई नगदेबालीका रूपमा प्रवर्द्धन गर्न अभियान चलाएको हो ।
नगर प्रमुख तुलसीराम रेग्मीका अनुसार, किसानले खेती गर्दा लागत अनुसारको लाभ नपाएको गुनासो बढेपछि पालिकाले आलु खेतीमा प्रोत्साहन कार्यक्रम अघि बढाएको हो । “वडा तहबाट माग आएपछि अनुदानमा बीउ वितरण गरिरहेका छौं,” रेग्मीले बताए । उनका अनुसार पालिकाले उत्पादन भएको आलुको बजारीकरणमा समेत सहजीकरण गर्नेछ ।
नगरपालिकाले जनकदेव र खुमल सेतो–१ जातका आलुको बीउ वितरण थालेको छ । पालिकाका सबै १४ वटै वडामा ७१ हजार चार सय किलो आलुको बीउ वितरण गरिँदैछ । तीमध्ये ६१ हजार चार सय किलो जनकदेव र १० हजार किलो खुमल सेतो–१ बीउको माग गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाका अनुसार, आलुको बीउ प्रतिकिलो ५८ रुपैयाँमा खरिद गरिएको र किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकिलो २९ रुपैयाँमा वितरण भइरहेको छ । सबैभन्दा बढी माग वडा नं. ३ मा आएको ढुंगानाले जानकारी दिए ।
आलुमा आत्मनिर्भर अभियानका लागि चालू आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।














