स्याङ्जाको भीरकोट नगरपालिका –१ मा बयरघरी पिस युथ क्लबको आयोजनामा सिसौघारी स्थित खेलमैदानमा जारी पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आज सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।
गत असोज २३ गतेदेखि सञ्चालनमा आएको चौथो बयरघारी रमाइलो मेलाको मुख्य आकर्षणको रूपमा रहेको भलिबल प्रतियोगितामा आज दुई सेमिफाइनल खेल हुने भएका छन् ।
पहिलो खेल बिहान ११ बजे समूह ‘बि’ का विजेता भीरकोट नगरपालिका र समूह ‘ए’ का उपविजेता वालिङ नगरपालिकाबीच हुनेछ । त्यस्तै, दोस्रो खेल दिउँसो २ बजे समूह ‘ए’ का विजेता पुतलीबजार नगरपालिका र समूह ‘बि’ का उपविजेता बिरुवा गाउँपालिकाबीच हुने रेफ्री संयोजक देबकुमार गुरुङले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद एक लाख १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । द्वितीयले ७० हजार, तृतीयले ४० हजार र सान्त्वना टिमले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, ब्लकर, लिब्रो, क्वीकर र सर्वरको रूपमा पनि छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चार–चार पालिकालाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेल सञ्चालन गरिएको प्रतियोगितामा अर्जुनचौपारी, बिरुवा, पुतलीबजार, भीरकोट, वालिङ र तनहुँको शुक्लागण्डकी लगायतका टोलीहरूको सहभागिता रहेको छ ।