स्याङ्जाको वालिङ नगरपालिका –१, त्रियासीमा कवि राधिका अर्याल (राधा) को पहिलो कवितासङ्ग्रह “अङ्कुर” सार्वजनिक भएको छ । ५६ वटा कविताहरू समेटिएको यो कृति विमोचनसँगै “त्रियासी साहित्य साँझ–२०८२” पनि भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम स्वर्गीय त्रिभुवन अर्यालको ११औँ पुण्यतिथि तथा स्याङ्जा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको अवसर पारेर आयोजित गरिएको थियो ।
वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जा को संयोजनमा र प्रतिभा जागरण केन्द्र, त्रियासी को आयोजनामा सम्पन्न उक्त कार्यक्रम त्रियासी कृषि उपज सहकारीको प्राङ्गणमा साहित्यिक इतिहासमै महत्त्वपूर्ण दिनका रूपमा अंकित रह्यो ।
“अङ्कुर” कृतिको विमोचन कवि राधा, कविकी माता पार्वती अर्याल, तथा वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीलगायतले संयुक्त रूपमा गरेका थिए । विमोचनसङ्गै वनवासीलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कविता सङ्ग्रहबारे विष्णु सुवेदी गैह्रे र दीपक लम्सालले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै राधाको काव्यले नेपाली नारी संवेदना, समाजिक चेतना र आत्मअभिव्यक्तिको नयाँ धार खोलेको बताएका थिए ।
कवि राधिका अर्याल, जो हाल क्यानडाको ओन्टारियोमा नर्सिङ व्यवस्थापकका रूपमा कार्यरत छिन्, त्रिभुवन विश्वविद्यालय र टोरोन्टो मेट्रोपोलीटियन युनिभर्सिटीबाट शिक्षित हुन् । उनले त्रिविको शिक्षण अस्पतालमा २१ वर्ष सेवा गरेकी थिइन् ।
साहित्य र समाजसेवामा बाल्यकालदेखि रुचि राख्ने कवि राधाका लेख रचना स्वदेश–विदेशका पत्र–पत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य किशोर अर्यालले, संयोजन वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि तथा साहित्यिक अभियन्ता मिलन समीरले र धन्यवाद ज्ञापन शार्दुल अर्यालद्वारा गरिएको थियो ।
“त्रियासी साहित्य साँझ–२०८२” को दोस्रो चरणमा स्याङ्जाका चर्चित स्रष्टाहरू — प्रेमबन्धु सुवेदी, इन्द्रप्रसाद पाठक, गुरुप्रसाद ढकाल, पूजा रेग्मी, शम्भु अर्याल, राधिका अर्याल लगायतले आफ्ना रचनाहरू वाचन गर्दै त्रियासीको साँझलाई कवितामय बनाएका थिए ।