बयरघारी पिस युथ क्लबको आयोजनामा बुधबारदेखि भीरकोट खेलमैदान सिसौघारीमा सुरु भएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका र भीरकोट नगरपालिकाले विजयी सुरुआत गरेका छन् ।
पहिलो खेलमै शुक्लागण्डकीले बयरघारी युवा क्लबलाई ३-१ को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको छ । पहिलो सेट २८-२६, दोस्रो सेट १९-२५, तेस्रो सेट २५-२२ र अन्तिम सेट २७-२५ को अंकले विजयी सुरुआत गरेको हो ।
त्यसैगरी, दोस्रो खेलमा भीरकोटले अर्जुनचौपारी गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । भीरकोटले पहिलो सेट ३३-३१, दोस्रो सेट २५-२२ र तेस्रो सेट २७-२५ ले आफ्नो पक्षमा पार्दै सहज जित निकालेको हो ।
खेलकुदमार्फत आपसी सौहार्द र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख १५ हजार, द्वितीय पुरस्कार ७० हजार, तृतीय ४० हजार र सान्त्वना ३० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
यसैगरी, प्रतियोगितामा प्रोत्साहन स्वरुप उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । कार्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा ११ पालिकाको सहभागिता रहेको छ ।