स्याङ्जा प्रहरीले विशेष सूचनाको आधारमा पुतलीबजारमा अवैध रूपमा पटका कारोबार गर्ने कार्यलाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो करिब ११:०० बजे, जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका –१ ट्राफिक चोक बस्ने २४ वर्षीया सजिता खातुनको घर/कोठामा खानतलासी गर्दा ‘कार्थिस्’ नामक सामान्य विस्फोटक पदार्थ (पटका) ४९ प्याकेट बरामद गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
फेला परेका ती पटकाहरूलाई स्थानीय जनप्रतिनिधि, भद्रभलाद्मी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, तिहार जस्ता चाडपर्वलाई लक्षित गरी हुने अवैध पटका कारोबार र बिक्रीविरुद्ध प्रहरीको निगरानी कडा पारिएको छ ।
प्रहरीले यस्तो खालको अवैध कारोबारमा संलग्नहरूलाई कानूनी दायरामा ल्याउने चेतावनी समेत दिएको छ ।