स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पहाडे गाईपालक किसानलाई मासिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘पहाडे गाई पालन तथा संरक्षण कार्यक्रम’ मार्फत किसानलाई प्रति गाई मासिक एक हजार रुपैयाँ दिने तयारी गरेको हो ।
सांस्कृतिक तथा धार्मिक महत्त्व बोकेको गाईको संख्या दिन प्रतिदिन घट्दै गएको अवस्थामा यसलाई संरक्षण गर्न गाउँपालिकाले यो योजनालाई यस वर्षपनि निरन्तरता दिएको हो । प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालका अनुसार आवश्यक कागजातसहित आवेदन दिने किसानमध्ये छनोट भएकालाई मात्र रकम उपलब्ध गराइने छ । उनले रित नपुगी पेश भएका निवेदनलाई छनोट प्रक्रियामा समावेश नगर्ने बताए ।
यस कार्यक्रमअन्तर्गत गत आव २०८१/८२ मा प्रोत्साहन पाएका कृषकले निवेदन र वडा कार्यालयको सिफारिस पेश गर्नुपर्नेछ भने चालू आव २०८२/८३ मा नयाँ आवदेन दिन चाहने कृषकले नेपाली नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, जग्गा भाडामा लिएको भए कम्तिमा पाँच वर्षको सम्झौतापत्र, गोठसहित गाईधनी देखिने गरी खिचिएका फोटो,वडा कार्यालयको सिफारिससहित निवेदन पेश गर्नुपर्नेछ ।
गाउँपालिका प्रमुख प्रकाश तिवारीले गाईपालनलाई आत्मनिर्भरता र आयआर्जनसँग जोड्ने उद्देश्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए । “गहुँत, गोबर, दुध तथा धार्मिक प्रयोजन सबैमा गाईको महत्व छ । त्यसैले पालिकाले गाईपालकलाई प्रोत्साहित गर्दै संरक्षणमा जोड दिएको हो,” उनले भने ।
उनका अनुसार हाल पालिकाभित्र घाँस प्रशस्त उपलब्ध भएको र नेपालकै पहिलो नवग्रह मन्दिर पनि यहीँ भएकाले गाईपालनको महत्व अझ बढ्ने देखिएको छ । भैँसी र बाख्रालगायतमा दिइँदै आएको प्रतिशतको आधारमा अनुदान प्रभावकारी नभएकाले गाईपालनमा प्रत्यक्ष प्रोत्साहन दिने विधि अपनाइएको उनले उल्लेख गरे ।