स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा लागू औषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो करिब २:४० बजे वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५४५१ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई समातेको हो ।
नियन्त्रणमा परेकामध्ये पोखरा महानगरपालिका –९ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले ११० एम्पुल नियन्त्रित लागू औषध बरामद गरेको छ । बरामद सामग्रीमा डाईजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल र फेनेरागन ३७ एम्पुल समावेश रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रित लागू औषध बरामद गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।