शुक्रबार सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) माध्यमिक शिक्षा परिक्षा(एसईई) २०८१ को नतिजामा स्याङ्जाका चारजनाले ४ जिपिए ल्याएका छन् । ४ जिपिए ल्याउने विद्यार्थीमा सामुदायिक विद्यालयतर्फ एक जना र निजी विद्यालयतर्फ तीनजना रहेका छन् ।
सामुदायिकतर्फ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयका प्रतीक भट्टराईले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका छन् । यस्तै, निजीतर्फ माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याउने अर्जुनचौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीकी किन्जन देवकोटा र वालिङ् नगरपालिकाको नेपाल आदर्श आवासीय माविका अप्सन सुवेदी, पायनियर आवासीय माविकी प्राप्ति काफ्ले रहेका छन् ।
स्याङ्जाबाट नियमितरूपमा तीन हजार ७३३ जनाले एसईई दिएकोमा दुई हजार ५१६ जना विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिए । उत्तीर्ण मध्ये ९० जना प्राविधिक समूहका विद्यार्थीहरु रहेका छन् ।
उनका अनुसार साधारणतर्फ उत्तीर्ण भएका विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३०८ जना, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ६९२ र ९१७ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् । यसैगरी, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ४७५ जना र ३४ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् ।
त्यस्तै, प्राविधिकतर्फ १६ जनाले ३.६ देखि ४ जिपिए, ३४ जनाले ३.२ देखि ३.६ जिपिए, ३३ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् ।
त्यस्तै, एक हजार २६० जनाले ग्रेडवृद्धि परीक्षा दिएकोमा साधारणतर्फ छ सय ८४ र ३८ जना प्राविधिकतर्फका गरी सात सय २२ जना उत्तीर्ण भएका छन् । ग्रेडवृद्धि परीक्षा दिने ५० जना प्राविधिक समूहका विद्यार्थीहरु रहेका थिए ।
गत साल भने जिल्लामै पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका एक मात्र विद्यार्थीले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका थिए ।