स्याङ्जाको कालीगण्डकी गाउँपालिका – ७ मिर्मीमा चोरी तथा सवारीसाधन तोडफोड गरेको आरोपमा चारजना किशोर पक्राउ परेका छन् । मंगलबार राती किशोरहरुले मिर्मी बहुमुखी क्याम्पससहित विभिन्न पसलमा तोडफोड गरी चोरी गरेको र स्थानीयका सवारीसाधन तोडफोड गरेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका – ७ मिर्मी का १८ वर्षीय एक किशोर, १६ वर्षीय दुई किशोर र धादिङ घर भई सोही ठाउँ बस्ने एक १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । उक्त घटनामा पक्राउ परेका सबै १८ वर्ष मुनिका भएकाले परिचय नखुलाइएको डिएसपी पौडेलले बताए ।
डिएसपी पौडेलका अनुसार किशोरहरुले मिर्मी बहुमुखी क्याम्पसको दोस्रो तलाको कम्प्युटर कक्ष र कार्यालयको ताल्चा फुटाएर किबोर्ड, माउस, कम्प्युटर पावर केवल चोरी गरेका थिए भने टेलिफोन, सिलिङ पंखामा समेत तोडफोड गरी क्षति पुराएका थिए ।
यस्तै, उनीहरूले स्थानीय ज्ञान प्रसाद न्यौपानेले सञ्चालन गरेको स्केटिङ हाउसमा समेत तोडफोड गरी स्केटिङ जुत्ता तथा नरम पेय पदार्थ जुसहरुलगायता सामाग्रीहरु चोरी गरेको प्रहरीले जनाएको छ ।
ती किशोरहरुले स्थानीय नारायणप्रसाद अधिकारीको स्कुटर तथा मोटरसाइकल र प्रबिन ढकालको मोटरसाइकल घरभन्दा टाढा लगेर तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घटनामा संलग्न रहेका किशोरहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पौडेलले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-