३० वर्ष प्रहरी सेवामा बिताएर अवकाश लिएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य कृषिकर्ममा जुटेका छन् । उनले आफ्नै जन्मभूमि स्याङ्जा चापाकोटमा फलफूल खेती सुरु गरेका हुन् ।
अवकाशपछिको जीवन उत्पादनमूलक क्षेत्रमा काम गरेर बिताउने उद्देश्यसहित आफू खेतीपातीमा लागेको उनले बताए ।
६२ वर्षीय आचार्यले २०७९ सालमा प्रहरी सेवाबाट अवकाश लिएपछि २०८० सालदेखि चापाकोट नगरपालिका-९, निर्दिममा फलफूल खेती थालेका हुन् । अवकाशपछिको समय सदुपयोग गर्नुका साथै गाउँमा फलफूल खेतीप्रति चेतना फैलाउने उद्देश्यले उनले लिची र आँपका बिरुवा रोपेका छन् ।
करिब ९ रोपनी क्षेत्रफलमा ५२ वटा लिची र १० वटा आँपका बिरुवा लगाएका उनले एभोकाडो र केराखेती पनि गरेका छन् ।
चापाकोटको हावापानी र माटो लिची तथा आँप खेतीका लागि उपयुक्त हुने भएकोले यी फलफूल रोजेको आचार्य बताउँछन् । उनले रोपेका अधिकांश लिचीका बिरुवा राम्रोसँग हुर्किरहेका छन् । लिची र आँपका बिरुवाले आगामी वर्षदेखि फल दिन थाल्ने अपेक्षा उनको छ ।
अवकाशपछि खाली बस्नुभन्दा आफ्नै गाउँमा उत्पादनमूलक काम गर्ने सोचले खेती सुरु गरेको आचार्यले बताए । यसमा हजुरबुबाको अधुरो सपना पूरा गर्ने उद्देश्य पनि जोडिएको छ ।
आचार्यका हजुरबुबा राणा शासनकालमा खरदार थिए । उनले गाउँमै कृषि कर्म गर्ने लक्ष्य राखेर जग्गा किनेका थिए । तर ती जग्गा लामो समयदेखि बाँझै रहे । हजुरबुबाले कृषि गर्ने उद्देश्यले किनेको जमिन उपयोगमा ल्याउने सोचले आफू खेतीमा लागेको आचार्यले बताए ।
आफूलाई पुग्ने पेन्सन आउने र काठमाडौंमा घरसमेत भए पनि गाउँमा बाँझो जमिन राख्नुभन्दा केही उत्पादन गर्ने सोचले खेतीमा लागेको उनको भनाइ छ । उनी र उनकी श्रीमती दुवै फलफूल खेतीमा सक्रिय छन् ।
साधारण जीवनयापन गर्दै आएका आचार्यले आफ्नै बारीमा फलफूल उत्पादन गरेर वर्षभरि खान पाउने र थप आम्दानीको सम्भावना बनाउने लक्ष्य राखेका छन् । त्यसैले १२ महिनै फलफूल खान पाइने गरी अन्य प्रजातिका बिरुवा पनि लगाउने उनको योजना छ ।
आचार्य २०४६ सालमा खरिदार पदमा नाम निकालेर गोरखाको सिँचाइ कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए । त्यसको तीन वर्षपछि २०४९ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका उनी ३० वर्षे सेवा अवधि पूरा गरी २०७९ सालमा अवकाश भएका हुन् ।
प्रहरी सेवामा रहँदा उनले गद्दी आरोहण रजत पदक, दैप्र पदक, प्रहरी सेवा पदक, संयुक्त राष्ट्रसङ्घ पदक, परदेश सेवा पदक र प्रबल जनसेवाश्री लगायतका विभूषण तथा सम्मान प्राप्त गरेका थिए ।
कृषि कर्ममा सक्रिय आचार्य सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि संलग्न छन् । उनी चापाकोट बहुमुखी क्याम्पसका अध्यक्ष हुनुका साथै गरिमा विकास बैंक लिमिटेडका सञ्चालकसमेत हुन् ।















