मुक्तिनाथ विकास बैंकले स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ का दुई विद्यालयका एक सय जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
मंगलबार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यहाँको श्रवण माध्यमिक विद्यालयमा अध्ययनरत ८४ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको हो ।
साथै, पाणिनी आश्रमअन्तर्गत सञ्चालनमा रहेको पाणिनी संस्कृत गुरुकुलका १६ जना बटुकलाई समेत झोला प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा गुरुकुललाई एक सेट कम्प्युटर पनि हस्तान्तरण गरिएको थियो ।
सामग्री हस्तान्तरण गर्दै बैंकका सञ्चालक समिति सदस्य भरत प्रसाद लम्सालले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाउन र शैक्षिक वातावरण सुधारमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए ।
उनले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा वित्तीय सचेतनासँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा बैंकका क्षेत्रीय उपप्रबन्धक ऋषीनाथ ढकाल, पञ्चमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्य लामिछाने र गुरुकुलका प्रधानाध्यापक देविसरा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।














