प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि स्याङ्जाबाट उम्मेदवारी दिएका २४ जनामध्ये ९ जनाले मात्रै निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोलेका छन् ।
आर्थिक कारोबार समिति प्रमुख थमनारायण शर्माका अनुसार बाँकी १५ उम्मेदवारले अझैसम्म निर्वाचन प्रयोजनका लागि आवश्यक खाता नखोलेका हुन् । निर्वाचन खर्च पारदर्शी बनाउन कानुनले छुट्टै बैंक खाता अनिवार्य गरेको भए पनि धेरै उम्मेदवारले प्रक्रिया सुरु नगरेको उनले बताए ।
स्याङ्जा क्षेत्र नम्बर–१ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मिनप्रसाद गुरुङ, नेपाली कांग्रेसका भरतराज ढकाल, नेपाल कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी र उज्यालो नेपालका रविन्द्र मल्लले बैंक खाता खोलेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का खिमबहादुर थापा, नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन पाठक र राष्ट्रिय जनमुक्ति पार्टीका हरिदेव थापाले खाता सञ्चालनमा ल्याएका छन् ।
क्षेत्र नम्बर–२ का राष्ट्रिय जनमोर्चा पार्टीका राजेन्द्र प्रसाद गैह्रेले भने खाता नखोल्ने जानकारी गराएको जनाइएको छ । अन्य १४ उम्मेदवारले हालसम्म प्रक्रिया नै सुरु नगरेको समितिले जनाएको छ ।
निर्वाचन खर्चका लागि तोकिएको समयसीमाभित्र सबै उम्मेदवारले छुट्टै खाता खोल्नुपर्ने व्यवस्था भए पनि बेवास्ता देखिएको अर्यालले बताए । “पटक–पटक फोन गरेर ताकेता गरेका छौँ, प्रतिबद्धता जनाइए पनि कार्यान्वयन हुन सकेको छैन,” उनले भने ।
निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले व्यक्तिगत खाताबाट खर्च गर्न नपाउने र निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने कानुनी प्रावधान छ ।
उक्त व्यवस्थाको कार्यान्वयनबारे निरन्तर अनुगमन भइरहेको स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत प्रेम सुवेदीले बताए ।
उम्मेदवारको नाम, दल, निर्वाचन क्षेत्र र बैंक विवरणसहितको प्रतिवेदन निर्वाचन आयोगमा पठाइने उनले जानकारी दिए । उनका अनुसार हालसम्म निर्वाचन प्रक्रियासम्बन्धी २३ वटा उजुरीसमेत दर्ता भएका छन् ।














