आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र २ निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ जना विभिन्न राजनीतिक दलका र चार जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेकपा (एमाले) बाट कालीगण्डकी गाउँपालिका–५ का खिम बहादुर थापा, नेपाली कांग्रेसबाट चापाकोट नगरपालिका–५ का भागवत प्रकाश मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट वालिङ नगरपालिका–१४ का झविलाल डुम्रे उम्मेदवार बनेका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट कालीगण्डकी–४ का पदमबहादुर विकले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वालिङ–१३ का रविन पाठक, मंगोल नेशनल अर्गनाइजेसनबाट चापाकोट–९ का खर्क बहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट वालिङ–१० का तेजबहादुर थापा र राष्ट्रिय जनमुक्ति पार्टीबाट कालीगण्डकी–४ का हरिदेव थापा उम्मेदवार छन् ।
यसैगरी जय मातृभूमि पार्टीबाट चापाकोट–३ का धनबहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वालिङ–१ का टिकाराम रेग्मी र राष्ट्रिय जनमोर्चा पार्टीबाट वालिङ–१० का राजेन्द्रप्रसाद गैरेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवारका रूपमा चापाकोट–२ का सागर थापा मगर, वालिङ–९ का दिलिप श्रेष्ठ, वालिङ–१४ का खिम बहादुर क्षेत्री र कालीगण्डकी–४ का घनश्याम पाण्डे मैदानमा उत्रिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ॠषि पौडेलका अनुसार सबै उम्मेदवारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि उम्मेदवारहरूले देश र जनताको हितलाई प्राथमिकतामा राखेर चुनावी प्रतिस्पर्धामा सहभागी भएको प्रतिक्रिया दिएका छन् । दर्ताका क्रममा ठूला दलका उम्मेदवार बाजागाजा र समर्थकसहित उपस्थित हुँदा साना दल र स्वतन्त्र उम्मेदवार भने सीमित प्रस्तावक–समर्थकका साथ शान्त रूपमा कार्यालय पुगेका थिए ।














