आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै सुरक्षाका दृष्टिले खटिएको विशेष सर्च अपरेसन टोलीले सोमबार स्याङ्जाको बिरुवा गाउँपालिका–३ सिउडीबाट अवैध चार नाल भरुवा बन्दुक र सम्बन्धित सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिरुवा गाउँपालिका–३ सिउडीका ७७ वर्षीय तिल बहादुर पुलामी रहेका छन् । उनको घरबाट एक नाले भरुवा बन्दुक दुई थान, २२३ ग्राम बारुद, छर्रा ३१ थान, छर्रा बनाउन प्रयोग हुने शिशा एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको घोडा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही स्थानका ६५ वर्षीय मिनबहादुर पुलामीको घरबाट एक नाले भरुवा बन्दुक एक थान, भित्र छर्रा १७ थान, ५० ग्राम बारुद र केप दुई थान फेला परेको छ । अर्का ६५ वर्षीय रण बहादुर थापाको घरबाट पनि एक नाले भरुवा बन्दुक एक थान, छर्रा २३ थान, ३७० ग्राम बारुद र केप पाँच थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
सर्च अप्रेसनका क्रममा तीन जनाको घरबाट लुकाइछिपाइ राखिएका भरुवा बन्दुक र त्यससँग सम्बन्धित सामग्री बरामद गरिएको सूचना अधिकारी तथा डिएसपी चौधरीले बताए । बरामद हतियार र सामग्रीसहित पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन यस्ता सर्च अप्रेसनलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।














