आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्याङ्जाका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
पार्टीले स्याङ्जा क्षेत्र नम्बर १ बाट शैलेन्द्र घिमिरे र क्षेत्र नम्बर २ बाट पदम विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका घिमिरे नेकपाका केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनलाई संघर्षशील, अनुशासित र वैचारिक रूपमा दृढ युवा नेताका रूपमा लिने गरिन्छ । लामो समयदेखि संगठन निर्माणमा सक्रिय रहँदै आएका घिमिरेले जिल्लामा राम्रो पकड बनाएका छन् ।
त्यसैगरी, स्याङ्जा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पदम विश्वकर्मा पनि नेकपाका केन्द्रीय सदस्य हुन् । उनी दलित मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा समेत छन् । दलित अधिकार र समावेशी राजनीतिक प्रतिनिधित्वका सवालमा सक्रिय विश्वकर्मालाई पार्टीले भरोसायोग्य नेताका रूपमा अघि सारेको जनाएको छ ।














