आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा सुरु गरिएको निर्वाचन प्रहरी भर्नामा तोकिएको संख्या अझै पूरा हुन सकेको छैन । आवेदन दिने म्याद थपिँदा पनि आवश्यक कोटा नपुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सुरुमा माघ १ गतेसम्म आवेदन लिने योजना भएपनि अपेक्षित संख्यामा आवेदन नपरेपछि म्याद माघ ३ गतेसम्म बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा निर्वाचन सेल प्रमुख प्रहरी निरीक्षक कमल नेपालीले बताए । स्याङ्जाका लागि दुई हजार १२६ निर्वाचन प्रहरी आवश्यक रहेकामा अन्तिम दिनसम्म एक हजार ३१८ जनाले मात्रै आवेदन दिएका छन् । यसअनुसार अझै ८०८ जनाको कमी देखिएको छ ।
माघ १ गतेसम्म १३ महिला र १५६ पुरुष गरी १६९ जनाले आवेदन दिएका थिए । म्याद थपिएपछि महिला आवेदक २०६ र पुरुष एक हजार ११२ पुगेका छन् । नेपाल प्रहरीतर्फ १९४७ जना माग गरेकोमा १९२ महिला र ९५२ महिला गरी एक हजार १४४ र सशस्त्र प्रहरी बल नेपालतर्फ १७९ जनामा १४ महिला र १६० पुरुष गरी १७४ जनाले मात्र आवेदन दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
उनका अनुसार भर्नाका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जासहित वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र सशस्त्र प्रहरी बल नेपाल नं ३० गुल्म हेडक्वाटर वालिङबाट आवेदन लिइएको थियो ।
यसपालि निर्वाचन सुरक्षामा खटाइने सुरक्षाकर्मीलाई ‘म्यादी प्रहरी’को सट्टा ‘निर्वाचन प्रहरी’ नाम दिइएको छ । निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि २०८२ अनुसार अगाडि बढाइएको प्रहरी निरीक्षक नेपालीले बताए ।
यस भर्ना, छनोट, नियुक्ति प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा मित्र राष्ट्रका सुरक्षा निकायबाट सेवा निवृत्त भइसकेका पूर्वसुरक्षाकर्मीहरू र वन रक्षकबाट अवकाश प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ । साथै २०८१ माघ १ देखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालका विभिन्न पदमा भर्ना हुन आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा सफल भएकाहरूलाई प्रवेश पत्रका आधारमा प्राथमिकतामा राखिनेछ । यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका रूपमा जिम्मेवारीपूर्वक काम गरेका व्यक्तिलाई पनि विशेष प्राथमिकता दिइनेछ ।
प्रहरीका अनुसार निर्वाचन प्रहरीको छनोट प्रक्रिया माघ ९ गतेभित्र सम्पन्न गरिनेछ । छनोटमा परेका उम्मेदवारलाई माघ १५ गतेदेखि २४ गतेसम्म आवश्यक तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ ।
नियुक्ति पाएपछि निर्वाचन प्रहरीले ४० दिनसम्म काम गर्नुपर्नेछ । कार्य अवधिमा उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले जम्मा ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । यसका साथै खाद्यान्न खर्च, आवतजावत तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
स्याङ्जामा जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । क्षेत्र नम्बर–१ मा एक लाख ३० हजार ८८६ र क्षेत्र नम्बर–२ मा एक लाख १७ हजार ९३० गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । जसमध्ये एक लाख २२ हजार ४६४ पुरुष, एक लाख २६ हजार ३५१ महिला र एक जना अन्य मतदाता छन् ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा ५६ मतदानस्थललाई अति संवेदनशील, ७१ संवेदनशील र ७२ सामान्य श्रेणीमा वर्गीकरण गरेको छ । जिल्लाभर १९९ मतदानस्थल र ३२२ मतदान केन्द्र तोकिएका छन् ।














