शहीद दिवसको अवसर पारेर स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा खुला पुरुष सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । भाया गाइज दरौँखोला फुटबल क्लब तथा युथ फर अर्जुनचौपारीको संयुक्त आयोजनामा हुने प्रतियोगिता माघ १६ गतेदेखि सुरु हुने बताइएको छ ।
अर्जुनचौपारी गाउँपालिका–१ स्थित अर्जुनचौपारी खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल” भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख १ रुपैयाँ र द्वितीय हुने टिमले ५० हजार एक रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै हाई स्कोरर, बेस्ट किपर, बेस्ट डिफेन्डर, बेस्ट इमर्जिङ प्लेयर र बेस्ट प्लेयरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने खेल संयोजक निशान गुरुङले जानकारी दिए ।
युवा पुस्तालाई खेलकुदमार्फत एकताबद्ध गर्दै स्थानीय खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।














