प्रथम खुमा अर्याल कप अन्तरपालिका स्तरीय टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाले प्रभावशाली जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउण्डेसनको आयोजनामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा कालीगण्डकीले फेदीखोला गाउँपालिकालाई ४९ रनले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कालीगण्डकीले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १७५ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो । ३.१ ओभरमा १२ रनमै पहिलो विकेट गुमाएको कालीगण्डकीका लागि त्यसपछि हिलसन पाण्डे र दर्श सुनारले दोस्रो विकेटका लागि १४६ रनको शानदार साझेदारी गरेका थिए । ७३ रनमा दर्सा आउट भएपछि कालीगण्डकीले केही छिटो विकेट गुमाएको थियो ।
अण्डर–१९ का राष्ट्रिय खेलाडी दर्श सुनारले ४७ बलमा आकर्षक ७३ रन बनाएका थिए । उनको इनिङ्समा पाँच चौका र पाँच छक्का समावेश थिए । हिलसन पाण्डेले ६५ रन जोडे भने भुवन भण्डारीले दुई बलमा अविजित सात रन बनाएका थिए । उक्त खेलमा फेदीखोलाका प्रशान्त सुवेदी र सुजन गौतमले दुई–दुई विकेट लिएका थिए ।
१७६ रनको लक्ष्य पछ्याएको फेदीखोला गाउँपालिकाले निर्धारित ओभरमा छ विकेटको क्षतिमा १२६ रनमै सीमित रह्यो । २० रनमा पहिलो विकेट गुमाएको फेदीखोलाले ४९ रन पुग्दा चौथो विकेट गुमाएको थियो । पाँचौँ विकेटका लागि सार्दुल भट्ट र प्रविन पौडेलले ५७ रनको साझेदारी गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । समूह ‘बी’ अन्तर्गतको यस पहिलो खेलको ‘प्लेयर अफ द म्याच’ बनेका कालीगण्डकी गाउँपालिकाका दर्श सुनारले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।
शनिबार पहिलो खेलमा समूह ‘सी’ का आँधीखोला गाउँपालिका र भीरकोट नगरपालिका तथा दोस्रो खेलमा कालीगण्डकी र वालिङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
मालेबगर खेलमैदानमै भइरहेको प्रतियोगिताको पहिलो चरण माघ ४ गतेसम्म र दोस्रो चरण माघ ९ देखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको छ । चार समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ‘ए’, ‘बी’ र ‘सी’ मा तीन–तीन पालिका तथा समूह ‘डी’ मा दुई पालिका छन् । प्रत्येक समूहका विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा ‘ए’ र ‘सी’ तथा ‘बी’ र ‘डी’ समूहका विजेताबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ मा बिरुवा गाउँपालिका, चापाकोट र पुतलीबजार नगरपालिका, ‘बी’ मा कालीगण्डकी, फेदीखोला गाउँपालिका र वालिङ नगरपालिका, ‘सी’ मा आँधीखोला गाउँपालिका, गल्याङ र भीरकोट नगरपालिका तथा समूह ‘डी’ मा हरिनास र अर्जुनचौपारी गाउँपालिका रहेका छन् ।
स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापना गरिएको फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहितका खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । तृतीय हुने टोलीलाई एक लाख र सान्त्वना टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ । लगातार तीन वर्ष विजेता हुने पालिकाले बहुमूल्य रत्न, सुन तथा चाँदी जडित रनिङ शिल्ड हात पार्नेछ ।
साथै प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले पाँच हजार र प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले पछिल्लो समय क्रिकेट खेलप्रति बालबालिकादेखि युवासम्मको आकर्षण बढ्दै गएको बताए । उनले यस्ता प्रतियोगिताले स्थानीय स्तरमै प्रतिभा पहिचान गर्न मद्दत पुग्ने उल्लेख गरेका छन् । साथै मालेबगर खेलमैदानलाई व्यवस्थित खेलमैदानका रूपमा विकास गर्न नगरपालिकाले चार करोड रुपैयाँ विनियोजन गरिएको जानकारी पनि गराएका थिए ।














