स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित सुन्तलीटार खेलमैदानमा यही पौष २५ गतेदेखि चलिरहेको तेस्रो चापाकोट महोत्सव–२०८२ अन्तर्गत राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।
चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित हुन लागेको प्रतियोगिता पौष ३० गतेदेखि माघ ६ गतेसम्म सुन्तलीटार खेलमैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख १५ हजाफ ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितीय, तृतीय र सान्त्वना हुने टोलीलाई क्रमशः ६६ हजार ६६६, ३३ हजार ३३३ र ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्सर र सर्भरलाई जनही दुई हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा सहभागी हुन खेलाडीको जन्ममिति वि.सं. २०४४ फागुन १० गतेभन्दा अगाडिको हुनुपर्ने नियम तोकिएको छ । प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनसँगै चापाकोटको पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने आयोजकले विश्वास व्यक्त गरेको छ ।














