स्याङ्जाको भीरकोट नगरपालिकाले करेन्ट लागेर गम्भीर घाइते भएका स्थानीय मनि खनालको उपचारमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको हालै बसेको १३४ औँ बैठकले खनाललाई ५० हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
वडा नं ६ चाप्टारीका ५६ वर्षीय खनाल पुस १२ गते रूखमा घाँस काट्ने क्रममा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका थिए । स्थानीयका अनुसार बुटबल पावर कम्पनी लिमिटेडको सेवा प्रवाहमा देखिएको जोखिम र लापरबाहीका कारण रूखमै करेन्ट पुगेको थियो, जसबाट खनाल दुर्घटनामा परेका हुन् ।
नगर प्रवक्ता दीपेन्द्र केसीले घाइतेको अवस्था र पारिवारिक अवस्थालाई मध्यनजर गर्दै उपचार सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए । यस्तै, नगरपालिकाका सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख सीताराम खनालले कार्यपालिकाले क्षतिपूर्तिसम्बन्धी निर्णय सर्वसम्मत रूपमा गरेको बताए ।
दुर्घटनामा खनालको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । भीरकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको थियो । खुट्टा आंशिक रूपमा जलेको पाइएकोपछि चिकित्सकको सल्लाहमा उनलाई काठमाडौँको कीर्तिपुर अस्पताल रिफर गरिएको छ, जहाँ हाल उपचार भइरहेको छ ।
यसैबीच सेवा प्रदायक बुटबल पावर कम्पनीले भने हालसम्म कुनै किसिमको क्षतिपूर्ति नदिएको पीडित पक्षको गुनासो छ । दुर्घटना र क्षतिपूर्तिको विषयमा आँधीखोला जलविद्युत केन्द्र, गल्याङका प्रमुख डोलप्रसाद खरेलसँग सम्पर्क गर्दा उनले घटनाबारे जानकारी भए पनि उपचार खर्च वा क्षतिपूर्ति दिन कानुनी व्यवस्था नभएको प्रतिक्रिया दिए ।
यद्यपि, मानवीय आधारमा भए पनि कम्पनीबाट सहयोग हुनसक्ने बताउँदै खरेलले घटनाको विस्तृत विवरणसहित बिपिसीको केन्द्रीय कार्यालयमा पत्राचार गरिएको जानकारी दिए ।














