स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका ६८ वर्षीय फणिनारायण अर्याल जिल्लाकै पुराना र सफल सुन्तला व्यवसायीका रूपमा चिनिन्छन् । लामो समयदेखि सुन्तला खेतीमा लागेका अर्याल स्याङ्जामा धेरै मात्रामा उत्पादन गर्ने तथा राम्रो आर्थिक लाभ लिने व्यवसायीमध्ये पर्छन् ।
विद्यालयमा अध्ययनरत रहँदै २०३६ सालमा २५ वटा सुन्तलाका विरुवा रोपेर उनले व्यवसायको सुरुवात गरेका हुन् । सहपाठीहरू सरकारी सेवातर्फ आकर्षित भइरहँदा उनी भने व्यावहारिक ज्ञानलाई प्राथमिकता दिँदै खेतीमै केन्द्रित रहेको बताउँछन् । कृषि विषय पढ्दा व्यवहारिक अभ्यासलाई पनि महत्व दिइने भएकाले सुरुमा रोपेका बिरुवाबाटै हौसला मिलेको अर्याल सम्झिन्छन् । ती बिरुवाले राम्रो फल दिन थालेपछि उनले २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाउँदै व्यवसाय विस्तार गरे ।
हाल करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको उनको सुन्तला बगैँचामा करिब दुई हजार तीन सय वटा बोट छन् । सुन्तलासँगै आम्दानी विविधीकरण गर्ने सोचले उनले २०५६ सालदेखि कफी खेती पनि सुरु गरे । सुन्तलाका बोटबीच कफी रोप्दा दुवै खेती फस्टाउने अनुभव भएपछि मिश्रित खेतीलाई निरन्तरता दिएको उनको भनाइ छ ।
अर्यालका अनुसार यही सुन्तला र कफी व्यवसायबाट प्रत्यक्ष रूपमा ५५ जनाले रोजगारी पाएका छन् । सुन्तलासँगै कफी खेती पनि गर्दै आएका अर्यालको मुख्य आम्दानीको स्रोत यही दुई खेती हुन् । गत वर्ष मात्रै उनले ७४ मेट्रिक टन सुन्तला उत्पादन गरी करिब ५५ लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसैगरी करिब छ हजार केजी कफी उत्पादन गरी प्रतिकिलो १०५ रुपैयाँका दरले बिक्री गर्दा छ लाखभन्दा बढी आम्दानी भएको अर्यालले जानकारी दिए ।
सीप अद्यावधिक गर्न अर्यालले स्वदेश तथा विदेशका तालिमलाई पनि उत्तिकै महत्व दिएका छन् । भारतको नागपुर, अस्ट्रेलिया, ल्हासा र थाइल्याण्डमा सुन्तलासम्बन्धी तालिम लिनुका साथै कफी खेतीका लागि भारतको बेङ्गलोरमा पनि प्रशिक्षण लिएको उनी बताउँछन् । सरकारबाट ८५ प्रतिशत अनुदानमा प्राप्त ग्रेडिङ मेसिन प्रयोग गरी गत आर्थिक वर्षमा चार दशमलव मेट्रिक टन सुन्तला ग्रेडिङ गरिएको उनले बताए ।
लामो समयको मेहनत र निरन्तरताले राम्रो प्रतिफल दिएको बताउँदै अर्याल आफ्नो व्यवसायप्रति पूर्ण रूपमा सन्तुष्ट रहेको सुनाउँछन् । अर्यालले कृषि पेसामा धैर्य र लगनशीलता भए सफलता टाढा नहुने धारणा समेत राखेका छन् । परम्परागत खेतीलाई व्यवसायिक रूपमा अगाडि बढाएमा गाउँमै बसेर सम्भावनालाई उद्यममा बदल्न सकिने उदाहरण उनको सुन्तला बगैँचा बनेको छ ।
यसैगरी, चार दशकभन्दा बढी अनुभव बोकेका उद्यमशील अर्यालले त्रिपुत्र बागवानी फार्ममार्फत कृषि कार्यलाई निरन्तर दिएका छन् । प्रथम राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित समेत भएको कृषि फार्मले सुन्तला र कफी उत्पादनमा देशकै नमुना अभ्यास गर्दै आएको छ ।
फार्ममा आफ्नै नर्सरीमार्फत प्राङ्गारिक विधिबाट सुन्तला र कफीका गुणस्तरीय बेर्ना उत्पादन हुँदै आएका छन् । उत्पादन मात्र नभई अत्याधुनिक मेसिनरी प्रयोग गरी प्रशोधन, सुरक्षित भण्डारण तथा निर्यातयोग्य बजारीकरणलाई समेत प्राथमिकता दिइएको छ ।
यहाँ कृषक तथा उद्यमीहरूका लागि सुन्तला र कफी खेतीसम्बन्धी विशेष ज्ञान आदानप्रदान, व्यावहारिक तालिम तथा सम्पूर्ण कृषि प्रक्रियाको परामर्श सेवा पनि उपलब्ध गराइँदै आएको अर्यालले बताए । व्यावसायिक कृषिमा लाग्न चाहनेहरूका लागि यो फार्म अध्ययन र सिकाइको केन्द्रका रूपमा विकास हुँदै गएको छ ।
यसैबीच फार्मलाई कृषि स्रोत केन्द्रका रूपमा विस्तार गर्दै स्वदेशी तथा विदेशी कृषि इन्टर्नसिप कार्यक्रम पनि सुरु गरिएको छ । आधुनिक प्रविधि, अनुभव र व्यावहारिक ज्ञानलाई एकै ठाउँमा जोड्दै फार्मले व्यावसायिक कृषि प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको छ ।














