स्याङ्जाको वालिङ नगरपालिका–१४ स्थित हिमासिखर सामुदायिक वन क्षेत्रको खरबारीमा आगो लगाएको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ सामुदायिक वन क्षेत्रमा आगो लागेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा स्थानीय दुई युवकलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
नियन्त्रणमा पर्नेमा वालिङ नगरपालिका–१४ निवासी १९ वर्षीय आसिक कुँवर र २० वर्षीय सुदिप कुँवर रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालय वालिङमा बुझाइएको थियो । हाल दुवै जना वडा प्रहरी कार्यालय वालिङको हिरासत कक्षमा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने सामुदायिक वनमा आगजनी गर्ने कार्यप्रति कडाइका साथ कारबाही गरिने निरीक्षक कार्कीले बताए ।














