देशकै प्रमुख सुन्तला उत्पादक जिल्ला स्याङ्जामा चालू आर्थिक वर्षमा सुन्तलाबाट एक अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुन्तला सुपरजोन स्याङ्जाका अनुसार उत्पादन र क्षेत्र विस्तारसँगै आम्दानीमा उल्लेख्य वृद्धि भएको हो ।
जिल्लामा करिब दुई हजार चार सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । तीमध्ये एक हजार चार सय २० हेक्टर क्षेत्रबाट मात्रै यस वर्ष २३ हजार दुई सय ३८ दशमलव पाँच मेट्रिक टन सुन्तला फलेको छ । प्रतिकिलो औसत ५७ रुपैयाँका दरले बिक्री हुँदा कुल मूल्य एक अर्ब ३२ करोड रुपैयाँ पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीले जानकारी दिइन् ।
यस वर्षको उत्पादन अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैयाँले बढी हो । गत आवमा २ हजार २५० हेक्टरमा सीमित रहेको सुन्तला खेती यस वर्ष करिब दुई सय हेक्टरले विस्तार भएको उनको भनाइ छ । अनुकूल मौसम, उत्पादन दिने बोटको संख्या बढ्नु र खेती क्षेत्र फराकिलो हुनु उत्पादन बढ्नुका मुख्य कारण मानिएका छन् ।
परियोजना प्रमुख अजय अधिकारीका अनुसार फूल फुल्ने र फल लाग्ने समयमा असिना पानी नपर्नु तथा रोग–किराको समस्या न्यून रहनुले उत्पादकत्वमा राम्रो सुधार आएको हो । “मौसमले साथ दिएमा आगामी वर्षहरूमा उत्पादन अझै बढ्नेछ,” उनले भने ।
उत्पादित सुन्तलामध्ये करिब १० प्रतिशत अर्थात् २ हजार ३५६ मेट्रिक टन जिल्लामै खपत हुने गरेको छ भने बाँकी २० हजार ८८२ मेट्रिक टन पोखरा, काठमाडौँ, चितवन र बुटवललगायतका बजारमा पठाइन्छ । यस वर्ष चिसोका कारण बुटवलतर्फ आपूर्ति केही घटेको जनाइएको छ ।
जिल्लाका ११ वटै पालिकामा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ । पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकालाई मुख्य पकेट क्षेत्र तोकिएको छ । यसैगरी फेदीखोला, आँधीखोला र बिरुवा गाउँपालिकामा नयाँ पकेट क्षेत्र विस्तार गरिएको सुन्तला सुपरजोन कार्यान्वयन समितिका अध्यक्ष बोधराज अर्यालले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विसं २०७३/७४ मा जोन र २०७५/७६ देखि सुपरजोन घोषणा भएसँगै स्याङ्जामा सुन्तला खेतीप्रति किसानको चासो बढ्दै गएको हो । निर्वाहमुखी खेतीबाट व्यवसायीक उत्पादनतर्फ किसान आकर्षित हुन थालेपछि सुन्तला जिल्लाको प्रमुख आम्दानीको स्रोतका रूपमा विकास हुँदै गएको छ ।
पाखो र भिरालो जमिनको सदुपयोग गर्दै अन्य बालीभन्दा सुन्तलातर्फ लाग्ने किसानको संख्या बढ्दो छ । सुन्तला खेतीबाट यहाँका कृषकले वार्षिक रूपमा प्रति परिवार २५ हजारदेखि ५५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
व्यापारीहरू सिधै बगैँचामा पुगेर सुन्तला खरिद गर्न थालेपछि किसानलाई बजारको चिन्ता पनि घट्दै गएको छ । रोपेको पाँच वर्षभित्र साधारण बिरुवाले र कलमी गरिएको बिरुवाले तीन वर्षमै फल दिन सुरु गर्ने भएकाले किसानको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।














