स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई खुमा अर्याल फाउण्डेसनले दुई सेट कम्प्युटर सहयोग गरेको छ ।
विद्यालयको ५१औँ वार्षिकोत्सवका अवसरमा फाउण्डेसनले मोनिटर, सिपियु, किबोर्ड र माउससहितका दुई सेट कम्प्युटर सामग्री प्रदान गरेको हो । फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको नेतृत्वमा आएको टोलीले विद्यालय व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरेको थियो ।
विद्यालयमा प्रविधिमैत्री शिक्षाका लागि आवश्यक कम्प्युटरको अभाव रहेको र व्यवस्थापन समितिको मागअनुसार सहयोग गरिएको अध्यक्ष शर्माले जानकारी दिए । प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ प्रभावकारी हुने विश्वाससहित सहयोग गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले विद्यालयको शैक्षिक गुणस्तर सुधार एक्लै कसैले सम्भव नहुने बताउँदै शिक्षक, अभिभावक र विद्यार्थी सबैको साझा जिम्मेवारीबाट मात्रै शिक्षामा सुधार ल्याउन सकिने उनले उल्लेख गरेका थिए ।
स्थानीय सरकार विद्यालयसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै तिवारीले शिक्षण वातावरण सुधार भएमा उपलब्धि अझ राम्रो हुने धारणा राखेका थिए ।














