स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ की ८० वर्षीया पवित्रादेवी विकले लामो समयपछि संसार देख्न पाएकी छन् । करिब एक दशकदेखि कमजोर हुँदै गएको दृष्टि पाँच वर्षअघि दुवै आँखामा मोतीविन्दु देखिएपछि पूर्ण रूपमा गुमेको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण पोखरा पुगेर उपचार गर्न नसकेकी विकले गाउँमै निःशुल्क शल्यक्रिया भएपछि पुनः आँखाले साथ दिएको बताइन् ।
पालिकाको आयोजना र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा यहाँको वडा नं. २ मा आयोजित शिविरमा विकको दुवै आँखाको सफल शल्यक्रिया गरिएको हो । पहिले शौचालय जानसमेत परिवारको सहारा चाहिने अवस्था रहेको उल्लेख गर्दै उनले उपचारपछि आफैं हिँडडुल गर्न सक्ने भएको खुशी व्यक्त गरिन् । एक पटक पोखरा पुगेर पनि रकम अभावमा औषधि मात्र लिएर फर्किनुपरेको पीडा उनले सम्झिन् ।
उक्त शिविरबाट वडा नं. ६ का ८१ वर्षीय छविलाल देवकोटाले पनि ठूलो राहत पाएका छन् । यसअघि पोखरा पुगेर दाहिने आँखाको शल्यक्रिया गर्दा ३० हजार रुपैयाँ खर्चिनुपरेको अनुभव सुनाउँदै उनले पालिकामै देब्रे आँखाको निःशुल्क शल्यक्रिया दुई दिनमै सफल भएको बताए । पैसा र समय दुवै जोगिएको भन्दै देवकोटाले गाउँमै सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिए । शिविरमा ८८ वर्षीय प्रेमबहादुर गुरुङ र ४० वर्षीय सन्तोष गुरुङको पनि मोतीविन्दुको शल्यक्रिया गरिएको थियो ।
पुस ७, ८ र ९ गते वडावडामा सञ्चालन गरिएको आँखा उपचार कार्यक्रममा ५७३ जनाले सेवा लिएका थिए । जसमध्ये ७६ जनामा मोतीविन्दु पहिचान भएको र पुस १५ र १६ गते गरी ६१ जनाको सफल शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित वृद्धवृद्धालाई गाउँमै पुगेर पहिचान गरी सेवा दिनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । नागरिकलाई रोगले थिच्न नदिने पालिकाको लक्ष्य रहेको उल्लेख गर्दै तिवारीले समस्या परेमा तुरुन्त जानकारी गराउन आग्रह समेत गरे । शिविरमा डा. कृष्ण गुरुङले सबै बिरामीको सफल एसआइसिएस प्रविधिबाट शल्यक्रिया गरेकी थिइन् ।
यस कार्यक्रमले ग्रामीण र आर्थिक रूपमा कमजोर नागरिकलाई ठुलो राहत पुगेको छ । स्थानीयले गाउँमै गुणस्तरीय सेवा पाउँदा पालिकाको पहललाई प्रशंसा गरेका छन् भने गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।














