स्याङ्जाको पुतलीबजार नगरपालिकामा बुधबार शोक बिदा दिइएको छ । नगरपालिकाको सरसफाइ केन्द्रमा कार्यरत कर्मचारी गीता शुवाको निधनमा बुधबार नगरपालिकाभर शोक बिदा दिइएको हो ।
नगर प्रमुख तुलसीराम रेग्मीले सूचना जारी गर्दै शुवाको निधनमा बुधबार पुतलीबजार नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थामा शोक विदा दिइने जानकारी गराएका हुन् । नगरपालिकाले अत्यावश्यक सेवा लिनु परेमा सम्बन्धित वडा वा स्वास्थ्य केन्द्रको सट्टा नगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
शुवाको सोमबार कार्यालय समयमा कार्य गरिरहेकै अवस्थामा असामयिक निधन भएको नगरपालिकाले जनाएको छ । नगरपालिका परिवारले शुवाको निधनप्रति समग्र नगरपालिका परिवार शोकमा परेको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नगरपालिकाले यो दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।














