नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन तथा ओसारपसारमा संलग्न तीन वटा ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ ।
पुतलीबजार नगरपालिका–१३ गैह्रीडाँडा, आँधीखोला क्षेत्रबाट बालुवा बोकेर गइरहेको ग १ त ६८६४ नम्बरको ट्याक्टर शनिबार नियन्त्रणमा लिइएको हो भने सोही दिन ग १ त ४१४४ नम्बरको ट्याक्टर पनि बालुवा तथा गिट्टी मिसाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
यसैगरी, आइतबार पुतलीबजार नगरपालिका–१४ लामागे क्षेत्रबाट बालुवा तथा गिट्टी लोड गरिएको ग १ त १७७४ नम्बरको ट्याक्टर पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक कार्कीले बताए ।
नियन्त्रणमा लिइएका सबै ट्याक्टरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीले अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको बताएको छ ।














