गण्डकी प्रदेश सरकारअन्तर्गत स्याङ्जामा रहेका दुई कार्यालयले एकीकृत रूपमा सेवा दिन सुरु गरेका छन् । सदरमुकाममा छुट्टाछुट्टै स्थानबाट काम गर्दै आएका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालयले यहि पुस १ गतेदेखि एउटै कार्यालयमार्फत सेवा दिन थालेका हुन् ।
प्रदेश सरकारको निर्णयअनुसार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी ‘एकीकृत सेवा कार्यालय’ स्थापना गरिएको हो । अब साविकका दुवै कार्यालयले प्रदान गर्दै आएका सबै सेवा यही एकीकृत कार्यालयबाट निरन्तर उपलब्ध हुने भएका छन् ।
कार्यालय प्रमुख जीवन पौडेलका अनुसार फरक–फरक प्रकृतिका काम गर्ने कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहज हुने र खर्चमा समेत मितव्ययिता आउनेछ । “सेवा छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ,” उनले भने ।
हाल एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय रहेको पुतलीबजार नगरपालिका–१, अभियानपथबाट सेवा दिइरहेको छ । यहाँ उद्योग तथा व्यवसाय दर्ता र नवीकरण, उद्यम प्रवर्द्धन, बजार अनुगमन, पर्यटकीय पूर्वाधार निर्माण तथा सीप र आयआर्जनसँग सम्बन्धित तालिम कार्यक्रम निरन्तर सञ्चालन हुने जनाइएको छ ।
त्यसैगरी, सामाजिक विकास कार्यालयबाट हुँदै आएका लक्षित वर्गका कार्यक्रम, क्षमता अभिवृद्धि तथा सीपमूलक तालिम, शिक्षा, संस्कृति र धार्मिक क्षेत्रका पूर्वाधार विकासका योजना पनि यही कार्यालयमार्फत अघि बढाइने छन् । एकीकृत सेवा कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ ।














