जन्म र मृत्यु मानव जीवनका अनिवार्य पाटो हुन् । जीवनयात्रा समाप्त भएपछि सबैको अन्तिम गन्तव्य एउटै स्थानमा पुग्छ । तर कतिपय ठाउँमा दाहसंस्कार गर्ने घाट अव्यवस्थित हुँदा अन्तिम संस्कार नै कष्टकर बन्ने गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा रहेको रामनदी घाटमा आवश्यक पूर्वाधार नहुँदा दाहसंस्कारका लागि आउने मलामीले लामो समयदेखि समस्या भोग्दै आएका छन् । स्याङ्जा र पाल्पाको संगमस्थलमा अवस्थित यो घाट धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । यही कारण जिल्लाका विभिन्न स्थानबाट अन्तिम संस्कारका लागि यहाँ शव ल्याइन्छ ।
कालिगण्डकी नदीले बगाएर ल्याएका काठदाउरा छोपेर संस्कार गर्ने परम्परा यहाँ पुरानै हो । तर घाटमा चिता घर, पिउने पानी, शौचालय र मलामी बस्ने प्रतिक्षालयजस्ता आधारभूत संरचना नहुँदा जोखिमपूर्ण अवस्थामा दाहसंस्कार गर्नुपर्ने बाध्यता रहेको स्थानीय ऋषि न्यौपानेले बताए । घाटसम्म पुग्ने बाटो, चिता बनाउने ठाउँ र सुरक्षित रूपमा संस्कार गर्ने अवस्था नै नाजुक रहेको उनको भनाइ छ ।
न्यौपानेका अनुसार वर्षात्को समयमा समस्या झन् बढ्छ । थोरै बाँकी रहेको स्थानमा चिता बनाउँदा बाढीले बगाइदिने, भिजेको काठदाउराले दाहसंस्कार गर्नुपर्ने अवस्था आउने गरेको छ । घाट जाने बाटो पनि हरेक वर्ष बाढीले क्षति पुर्याउने र विद्युत् बत्तीको व्यवस्था नहुँदा रातिको समयमा संस्कार गर्न कठिनाइ हुने गरेको छ ।
धार्मिक विश्वासका कारण कालिगण्डकीमा अन्तिम संस्कार गर्दा पुण्य प्राप्त हुने मान्यता रहेकाले धेरै ठाउँबाट राम्दीमा शव ल्याइने गरेको गल्याङ–१ का वडाध्यक्ष मणिप्रसाद बस्यालले बताए । तर घाटको अव्यवस्थाका कारण कतिपय अवस्थामा शव पूर्ण रूपमा नजल्दा घाट झनै फोहर बन्दै गएको उनको भनाइ छ । उनले यो घाट छ–सात वटा पालिकासँग जोडिएको भए पनि निर्माण र व्यवस्थापनतर्फ कसैको पर्याप्त ध्यान नपुगेको उल्लेख गरे ।
राम्दी घाटलाई पूर्ण रूपमा व्यवस्थित बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी तत्काल कार्यान्वयनमा लैजानु आवश्यक देखिन्छ । धार्मिक महत्व बोकेको यस घाटको सुधारका लागि सम्बन्धित निकाय र सरोकारवाला सबैको साझा चासो र पहल अपरिहार्य छ ।














