स्याङ्जाको भीरकोट नगरपालिकामा क्षेत्री समाजले सामुदायिक सक्रियता र एकताको उदाहरण प्रस्तुत गर्दै करिब १ करोड ५१ लाख रुपैयाँ लागतमा बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गरेको छ ।
क्षेत्री समाज नेपालको नेतृत्वमा बनेको भवनमा १ करोड ११ लाखभन्दा बढी रकम समुदायस्तरबाटै स्वतःस्फूर्त उठाइएको अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए ।
अध्यक्ष केसीका अनुसार १६ जनाले १ लाखभन्दा बढी, २८ जनाले ५० हजारभन्दा बढी र ५७७ जनाले ५ हजारभन्दा बढी सहयोग गरेका थिए । “क्षेत्री मात्र नभई बाहुन, मुस्लिमलगायतका समुदायबाट पनि उल्लेख्य सहयोग प्राप्त भएको छ,” उनले बताए ।
भीरकोट नगरपालिका –१, बयरघारीस्थित पुलको मुखमा बनेको आधुनिक भवन ८ रोपनी ८ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । गत वर्ष २०८१ भाद्र ३१ गते घटस्थापनाका दिन शिलान्यास गरिएको भवन एक वर्षमै सम्पन्न भएको हो ।
७ हजार १६५ वर्गफिट क्षेत्रफलमा बनेको एकतले भवनमा करिब एक हजार जनाको क्षमता भएको सभाहल रहेको छ । भवनभित्र बाथरूम, शौचालय, पोशाक परिवर्तन कक्ष, कार्यालय कक्ष, भान्सा कक्ष र शुद्ध खानेपानीको सुविधा छ । साथै, हवनकुण्ड पनि निर्माण गरिएको छ ।
“क्षेत्री समाजको अगुवाइमा बनेको भए पनि भवन सबै जातजातिले प्रयोग गर्न पाउने गरी खुला गरिएको छ,” अध्यक्ष केसीले भने ।
भवनलाई धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक कार्यक्रमका लागि आधिकारिक रूपमा सञ्चालनमा ल्याइएको छ । निकट भविष्यमा योगा, जिम र बास्केटबल कोर्टको सुविधा थपिने तयारी गरिएको छ ।
यस्तै, भवन निर्माणमा भीरकोट नगरपालिकाले पनि १० लाख रुपैयाँको सहयोग गरेको अध्यक्ष केसीले जानकारी दिए ।
समुदायकै सहयोगमा बनेको यो भवनले सामाजिक एकता र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिइएको छ ।