सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको १५ वर्ष पुगिसक्दा पनि स्याङ्जामा यो रोग पूर्ण रूपमा निर्मूल हुन सकेको छैन । सरकारले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष लिएको भए पनि हालैको तथ्यांकले रोग अझै समाजमा मौनरूपमा फैलिरहेको संकेत देखाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा स्याङ्जा जिल्लामा मात्र आठ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । पुतलीबजार र चापाकोट नगरपालिकामा दुई/दुई जना तथा वालिङ नगरपालिकामा तीन जना बिरामीको पहिचान गरिएको हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि सोही स्थानहरूबाट दुई/दुई जना गरेर कुल छ जना बिरामी फेला परेका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंका अनुसार हाल जिल्लामा नौ जना बिरामी औषधी सेवन गरिरहेका छन् । तर, कुष्ठरोगका लक्षणहरू सजिलै चिन्न नसकिने र समाजमा लुकेर बसेका बिरामीहरू अझै पनि उपचार बाहिर रहन सक्ने सम्भावना उच्च रहेको जनस्वास्थ्य प्रशासक चापागाईंले बताए ।
स्याङ्जाका ११ वटै पालिकामध्ये आठ पालिकामा भने अहिलेसम्म कुष्ठरोगका बिरामी नदेखिएको चापागाईंले जानकारी दिए । “यो रोग छालामा छोएर मात्र सर्नु नपर्ने, आँखाभौँ सुनिनु, कानको लोती बाक्लिनु, स्नायुमा झमझम र सुन्निने लक्षण देखिने भएकाले समयमै पहिचान गर्न सकिए पूर्ण निको हुन सकिन्छ,” चापागाईंले भने ।
उनका अनुसार रोगको प्रकृतिअनुसार छ महिना देखि एक वर्षसम्म नियमित औषधी सेवन गरेमा रोग निको हुने गर्छ । औषधी सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध छ ।
सरकारको प्रतिबद्धता र स्वास्थ्य संयन्त्रको पहलबीच स्याङ्जा जस्ता जिल्लामा अझै रोग पहिचान र सचेतना अभाव देखिनु चिन्ताको विषय बनेको छ । सन् २०३० को लक्ष्य प्राप्तिका लागि समाजमै लुकेर बसेका बिरामीहरूको पहिचान र उपचार सुनिश्चित गर्नु अत्यावश्यक देखिन्छ ।
स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीच समन्वय गर्दै लक्षणबारे सचेतना अभियान सञ्चालन नगरी कुष्ठरोग उन्मूलनको लक्ष्य पूरा नहुने देखिएको छ । लक्षण नदेखिने र रोग लुकिने प्रवृत्तिका कारण जिल्लामा अझै कुष्ठरोगका गोप्य बिरामी हुन सक्ने तथ्यले स्वास्थ्य क्षेत्रलाई थप संवेदनशील बनाएको छ ।
१५ वर्षअघिको ‘कुष्ठरोग निवारण घोषणा’ तथा आगामी पाँच वर्षभित्र ‘शून्य कुष्ठरोग’ को लक्ष्य साकार पार्न अब स्वास्थ्य नीतिलाई गाउँघरको व्यवहारमा उतार्नु जरुरी देखिएको छ । जनस्तरमा सशक्त प्रचार–प्रसार, नियमित स्क्रिनिङ र लक्षणबारे जानकारीमूलक कार्यक्रम बिनाको लक्ष्य, केवल घोषणामा मात्र सिमित हुने चिन्ता स्वास्थ्यकर्मीले व्यक्त गरेका छन् ।