पोखरा । पोखरामा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
पोखरा २२ पुम्दी भुम्दीको बगालटारीमा आज करिब साढे १२ बजे टिप्परले ठक्कर दिँदा स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीया मिना क्षेत्रीको मृत्यु भएको हो ।
पोखराको छोरेपाटनबाट पुम्दी भुम्दी तर्फ जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले सोही दिशा तर्फ जादै गरेको ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक मीना सडकमै ढलेकी थिइन् ।
उनलाई प्रहरी र स्थानीयले उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।
बाटो पिच भइरहेको ठाउँमा आफ्नै साइडमा गइरहेकी उनलाई टिप्परले ठक्कर दिँदा ज्यान गयो । टिप्पर चालकको हदैसम्मको लापरबाही रहेको प्रत्यक्षदर्शीले जनाएका छन् ।
टिप्पर चालक र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।