स्याङ्जाको भीरकोट नगरपालिकामा चट्याङ लागेर एकजना घाइते भएका छन् । भीरकोट नगरपालिका -९ कोटा बस्ने ४६ वर्षीय देउ बहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा आइतबार रातिको समयमा अचानक चट्याङको झट्का लाग्दा थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
प्रवक्ता चौधरीका अनुसार आइतबार चट्याङ लागि घाइते भएका थापाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । घाइते थापाको दाहिने हातमा चोट लागेको प्रहरीको भनाइ छ ।