चितुवाको आक्रमणबाट स्याङ्जा वालिङ्का एकजना व्यक्ति घाइते भएका छन् । मंगलबार बिहान चितुवाको आक्रमणबाट स्याङ्जा वालिङ् नगरपालिका – ११ तल्लो पेखुका ४५ वर्षीय मुक्त बहादुर थापा रहेका छन् ।
घर नजिकै रहेको कुखुराको खोरमा चितुवा पसेको थाहा पाएर हेर्न जाँदा चितुवाले अचानक आक्रमण गर्दा थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
चितुवाको आक्रमणबाट घाइते भएका थापाको टाउको र बायाँ हातमा घाउ परेको छ । घाइते थापाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा सामान्य उपचार पश्चात् थप उपचारको लागि पोखरा रिफर गरिएको प्रवक्ता चौधरीले बताए । चितुवाले उक्त खोरमा रहेका मध्ये दुईवटा कुखुरा मारेको र दुईवटा घाइते बनाएको समेत प्रवक्ता चौधरीले जानकारी दिए ।
साथै, पशुपंक्षी तथा चौपायाहरूलाई आक्रमण गर्ने यस्ता प्रकारका घटनाहरू आगामी दिनहरूमा पनि हुने सम्भावना रहेकोले सम्पूर्ण स्याङ्जावासीहरूलाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अनुरोध समेत गरेको छ ।