शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा एमाले सांसद विद्या भट्टराई नियुक्त भएकी छिन् । उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिन् ।
५२ वर्षिया भट्टराई ६ वर्षअघि सम्म त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा कार्यरत थिईन् । श्रीमान तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री एवं कास्कीका एमाले नेता रविन्द्र अधिकारीको ताप्लेजुङ पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उनी उपप्राध्यापकबाट राजीनामा गरेर राजनीतिमा सक्रिय भएकी थिईन् ।
२०७६ मा भएको उपनिर्वाचनमा भट्टराई कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसद् छिरेकी हुन् । २०७९ को निर्वाचनमा पनि उनी सोहि क्षेत्रबाट दोस्रो पटक निर्वाचित बनिन् ।
समाजशास्त्रमा स्नातककोत्तर मानवशास्त्रमा एमफिल सम्मको अध्ययन गरेकी उनी त्रिविमा समाजशास्त्रको उपप्राध्यापक थिईन । २०४६ साल देखि नै उनी एमालेमा आवद्ध थिईन् ।
२०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव, उपत्यका महिला कमिटी सचिव, ०६७ मा संघीय महिला विभाग सदस्य, ०७५ सम्म पार्टीको शिक्षा विभागमा रहेकी उनी पहिलोपटक मन्त्री बनेकी हुन् ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य भएर सक्रिय थिईन् ।
शिक्षा मन्त्रालयले लगातर दोस्रोपटक महिला शिक्षामन्त्री पाएको छ । यस अघि २०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ शिक्षामन्त्री थिईन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सत्ता गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि भट्टराई शिक्षामन्त्री बनेकी हुन् ।
विद्या भट्टराई को हुन् ?
काठमाडौँको चावहिलमा जन्मिएकी भट्टराईले पञ्चायतकाल किनारा लाग्दै गर्दा विद्यार्थी जीवनबाट राजनीति शुरू गरेकी थिइन्। कक्षा ९ मा अध्ययन गर्दा उनले विद्यालयमा पठनपाठन बन्द गर्न नमिल्ने भन्दै नारा लगाएकी थिइन्।
सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च र राष्ट्रिय पञ्चायतका सदस्य रहेका उनका बुवा हेमराजबाट विद्यार्थी राजनीतिमा लाग्न उनलाई प्रेरणा मिलेको थियो। २०४६ सालमा बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस भर्ना भएपछि अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्य भएकी थिइन् उनी। २०५१ सालमा उनी अनेरास्ववियुको महिला विभाग प्रमुख पनि भइन्।
२०५५ सालमा पुग्दा उनी अनेरास्ववियुको केन्द्रीय सचिवसमेत बनेकी थिइन्। भट्टराईले राजनीतिमा आफू स्थापित भएर महिलाका लागि पनि यो क्षेत्र उपयुक्त छ भन्ने सन्देश दिन चाहेकी थिइन्। तर विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५६ असार २६ मा उनको विवाह रवीन्द्र अधिकारीसँग भयो।
विवाहपछि उनले आफूलाई भन्दा पनि रवीन्द्रलाई स्थापित गर्न भूमिका खेल्नुपर्ने भयो। यद्यपि उनले विभिन्न चुनौती सामना गर्दै अध्ययनलाई निरन्तरता दिइन्।
रवीन्द्रले राजनीतिमा आफ्नो हैसियत बलियो बनाउँदै गर्दा उनले समाजशास्त्रमा एमए र मानवशास्त्रमा एमफिलसम्मको अध्ययन पूरा गरिन्। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्रध्यापक बन्न सफल भइन्। त्यसअघि उनले कहिले काठमाडौँ त कहिले पोखराका सामुदायिक क्याम्पसहरूमा पनि पढाएर परिवारका लागि खर्च जुटाएकी थिइन्।
त्यो बीचमा उनले पार्टी भने कहिल्यै छोडिनन्। पार्टीको कुनै न कुनै भूमिकामा रहेर काम गरेको अनुभव उनीसँग छ। एमालेको उपत्यका महिला कमिटी सचिव रहेकी उनी २०६७ सालमा संघीय महिला विभागको सदस्य बनेकी थिइन्। २०७५ सालसम्म पार्टीको शिक्षा विभागमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ।
२०७५ फागुन १५ को एउटा दुखद् घटनाले उनलाई फेरि राजनीतिमा फर्काएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बेला उनका श्रीमान् रवीन्द्रको ताप्लेजुङको पाथीभरा नजिकै हेलिकप्टर दुर्घटनामा परी निधन भयो।
रवीन्द्रको निधनसँगै उनको विरासत धान्न भट्टराईलाई पुनः राजनीतिमा सक्रिय हुन पार्टी तथा उनका शुभचिन्तकहरूले सल्लाह दिए। यसै पनि राजनीतिमा सक्रिय रहने उनको सपना अधुरै थियो। पार्टीले उनलाई पत्यायो। २०७६ मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ बाट उठेकी उनले २४ हजार ३९४ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई हराइन्।
२०७९ मंसिरको निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट उनले निकटतम राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरेकी थिइन्। काँग्रेस माओवादी गठबन्धनका नेकपा एसका उम्मेदवार श्रीनाथ बराल तस्राे स्थानमा खुम्चिए ।
प्रतिक्रिया लेख्नुहोस्:-