स्याङ्जामा ६४ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चापाकोट नगरपालिका–३ बेलडाँडाका ६४ वर्षीय भेषबहादुर रेग्मी मृत फेला परेका हुन् ।
उनी घरदेखि करिब १०० मिटर टाढा रहेको बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार रेग्मी बिहीबार राति गाउँतर्फ जान्छु भन्दै घरबाट निस्किएका थिए । उनी राति घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान घरनजिकैको बारीमा मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि चापाकोट अस्पताल पठाएको डिएसपी अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार रेग्मीले नियमित रूपमा मादक पदार्थ सेवन गर्ने गरेको खुलेको छ । उनको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।














