स्याङ्जाको वालिङमा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने भएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३० नम्बर गुल्म हेडक्वार्टर स्याङ्जाले कात्तिक १३ गते शुक्रबार ग्यास गनबाट सेल फायरिङ अभ्यास गर्न लागेको हो ।
वालिङ नगरपालिका–८ घ्याङलिङस्थित गुल्म परिसरमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अभ्यास सञ्चालन हुने सशस्त्र प्रहरी नायब उपरीक्षक तथा गुल्मपति लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए ।
गुल्ममा गत असोज १९ गतेदेखि सञ्चालन भइरहेको हुल तथा दंगा व्यवस्थापन अनुशिक्षण तालिमअन्तर्गत अभ्यास गर्न लागिएको हो । तालिममा सहभागी ७२ जना प्रशिक्षार्थीले ग्यास गनबाट ग्यास सेल फायरिङको अभ्यास गर्ने कार्यक्रम रहेको छ ।
अभ्यासका क्रममा फायरिङ हुने क्षेत्र आसपासका सर्वसाधारणलाई पूर्वजानकारी गराउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ । निर्धारित समय र स्थानमा अभ्यास हुने भएकाले आसपासका बासिन्दालाई यसबारे जानकारी गराइएको गुल्मले जनाएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा गुल्मपति बस्नेतले अभ्यासबारे जानकारी दिँदै आसपासका सर्वसाधारणलाई सूचित गरिदिन आग्रह गरेका छन् ।














