स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेमा दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा मनकामना मन्दिर परिसरमा आयोजित तेस्रो मनकामना महोत्सव–२०८३ अन्तर्गत कात्तिक १० देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मेखराज गुरुङका अनुसार प्रतियोगिताको विजेताले दुई लाख दुई हजार रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले एक लाख एक हजार र तेस्रो हुने टोलीले ५० हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । तीनै स्थानका विजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र अनुशासित खेलाडीलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टोलीले १० हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ ।
राष्ट्रिय भलिबल रेफ्री अनिल रानाका अनुसार प्रतियोगितामा १५ समूह सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
महोत्सवको उद्घाटन भने आज गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले गरेका छन् ।
कात्तिक ९ गते कोजाग्रत पूर्णिमाका दिन नवनिर्मित मनकामना मन्दिरको उद्घाटन तथा चन्दादाता सम्मान कार्यक्रम राखिएको छ । मन्दिर उद्घाटन नेपाली कांग्रेसका पार्टी सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि कात्तिक १० गतेदेखि भलिबल प्रतियोगिता सुरु हुनेछ । भलिबलसँगै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहनेछन् । सोरठी, कौडा, पञ्चेबाजा र छ्याङ्रुङलगायतका सांस्कृतिक कार्यक्रम, लाइभ दोहोरी, स्थानीय क्लब तथा आमा समूहका प्रस्तुति र हास्यव्यङ्ग्य पनि समावेश गरिनेछन् ।
त्यसैगरी कृषि तथा हस्तकला प्रदर्शनी र शैक्षिक प्रदर्शनी महोत्सवका आकर्षण रहनेछन् । महोत्सवको प्रत्येक साँझ चर्चित ब्यान्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मनकामना मन्दिर व्यवस्थापन समितिले धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय कला–संस्कृति संरक्षण र खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ ।















