दसैंमा व्यापारी र तीर्थालुको चहलपहलले भरिने स्याङ्जा, गुल्मी र पर्वतको सङ्गमस्थल सेतीवेनी बजार यस वर्ष सुनसान रह्यो ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले घर तथा पसलमा ठूलो क्षति पुर्याएपछि बजारको जनजीवन प्रभावित भएको छ । बजारमा हिँडडुल गर्नसमेत सहज छैन भने व्यापार व्यवसाय ठप्प छ ।
पुरानो बजार, कालीगण्डकी किनारमा रहेको शालिग्राम शिला र विभिन्न स्थानमा आवतजावत गर्ने नाकाका रूपमा परिचित सेतीवेनीमा दसैंका बेला विशेष चहलपहल हुन्थ्यो । तर यस वर्ष बाढीले बजारको स्वरूप नै बिगारेपछि स्थानीयले चाडपर्व मनाउनेभन्दा क्षतिग्रस्त घर तथा पसल सम्हाल्ने र बाँकी सामान सुरक्षित ठाउँमा सार्ने काममा समय बिताउनुपरेको छ ।
बाढीले बजारका ५० भन्दा बढी घरमा क्षति पुर्याएको छ भने ३२ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका छन् । गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईका अनुसार ३२ घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएका छन् ।
बाढी आएको करिब एक महिना बितिसक्दा पनि क्षतिको पूर्ण विवरण संकलन भइसकेको छैन । विवरण संकलन गर्न अझै केही दिन लाग्ने गल्याङ नगरपालिकाले जनाएको छ ।
दसैंमा मोबाइलको बिक्री बढ्ने आशामा पसलमा धेरै सामान राखेका व्यापारी रामप्रसाद न्यौपानेले अपेक्षाअनुसार व्यापार गर्न पाएनन् । बाढीले पसलमा क्षति पुर्याएपछि उनको व्यवसायसमेत प्रभावित भएको छ ।
मेडिकल व्यवसायी दीपक भण्डारीलाई पनि ठूलो क्षति भएको छ । गाउँमै मेडिकल सञ्चालन गरेर एक्सरे सेवासमेत दिँदै आएका उनको औषधि र एक्सरे मेसिनमा बाढीले क्षति पुर्याएको छ । बाढीबाट फेन्सी, कस्मेटिक, मेडिकल र मोबाइल पसललगायतमा करोडौँ रुपैयाँ बराबरको क्षति भएको व्यापारीहरूको भनाइ छ ।
बाढी प्रभावितलाई तत्कालका लागि केही राहत तथा सहयोग उपलब्ध गराइए पनि बजारलाई सुरक्षित रूपमा पुनःस्थापना गर्ने विषय अझै टुंगिएको छैन । जोखिममा रहेका बस्तीलाई पुरानै स्थानमा व्यवस्थित गर्ने वा सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने भन्नेबारे दीर्घकालीन योजना आवश्यक देखिएको छ ।
गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईका अनुसार प्रभावित बस्तीको पुनःस्थापनाका लागि नगरपालिकाले योजना बनाउने काम गरिरहेको छ । बाढीबाट भएको क्षतिको विवरण संकलन र जोखिमको अवस्थालाई ध्यानमा राखेर बस्तीलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा निर्णय गरिने उनले बताए ।
दसैंको मुखमा आएको बाढीले सेतीवेनीका बासिन्दाको घर र व्यवसायमा मात्र क्षति पुर्याएको छैन, वर्षौंदेखि चहलपहल रहने बजारको चाडपर्वको रौनकसमेत खोसेको छ । विस्थापित परिवार र व्यवसायीका लागि अबको चुनौती सुरक्षित बासस्थान र व्यापार पुनःसञ्चालन गर्नु बनेको छ ।















